प्रवचनहरू पढ्नुहोस्
Read Sermons
तपाईंले यहाँ कलभरी बाइबल ब्याप्टिष्ट चर्चको हालैको प्रचार वा शिक्षाहरूको रूपरेखा पाउनुहुनेछ।
प्रेमको परिश्रम
Jan 16, 2018 by Pastor Bijay Pradhan
Sermon code:#021
चाबी पद:
लूका २:४९ - अनि उहाँले उनीहरूलाई भन्नुभयो: “तपाईंहरूले मलाई खोज्नुभयो, किन? म मेरा पिताको काममा व्यस्त रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाह थिएन?”
परिचय:
- यस पृथ्वीमा परमेश्वरको निम्ति हाम्रो काम कहिल्यै पूरा भएको हुँदैन ।
- परमेश्वर र मण्डलीको निम्ति सधैँ केही न केही गर्न आवश्यक हुन्छ ।
- सधैँ कोही न कोही त हुन्छ जसलाई सहयोगी हात चाहिन्छ ।
- हाम्रो वरिपरि हराएका मानिसहरू छन् जसलाई ख्रीष्टको आवश्यकता छ ।
- साना बालबालिकाहरू छन् जसलाई परमेश्वरको वचन सिकाउनु खाँचो छ।
- गर्नुपर्ने धेरै कुराहरू छन् ।
- हराएकाहरू (बहिराहरू) लाई सुसमाचार सुनाउने काम छ ।
- हामी सबै हाम्रो पिताको काममा व्यस्त हुनुपर्छ ।
आउनुहोस् आज हामी हाम्रो परमेश्वरको निम्ति परिश्रम गर्ने विषयमा ध्यान केन्द्रित गरौं !
१. हामी परमेश्वरका कामदारहरू (खेतालाहरू) हौं !
मत्ती ९:३६-३८ - तर भीड़हरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेड़ाहरूजस्तै क्लान्त भएका र तितरबितर पारिएका थिए । तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो: “साँच्चै फसल प्रशस्तै छ, तर खेतालाहरू थोरै छन् । यसकारण तिमीहरूले फसलका प्रभुलाई, उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी प्रार्थना गर ।”
- हाम्रो काम प्रेमको हुनुपर्छ ।
- हाम्रो काममा समय र योग्यताको (दान) बलिदान हुनुपर्छ ।
- हाम्रो काम येशू नआउन्जेल हुनुपर्छ ।
२. हामी एक-अर्कोमा परमेश्वरका सङ्गी कामदारहरू (सहकर्मीहरू) हौं !
१ कोरिन्थी ३:५-८ - तब पावल को हो र? अनि अपोल्लोस को हुन् र? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ, जसरी नै प्रभुले हरेकलाई दिनुभएको छ । मैले रोपें, अपोल्लोसले पानी लगाए, तर परमेश्वरले बढ़ाउनुभयो । यसकारण न ता रोप्ने केही हो, न ता पानी हाल्ने, तर परमेश्वर नै हुनुहुन्छ, जसले बढ़ाउनुहुन्छ । अब रोप्ने र पानी हाल्ने एकै हुन्; अनि हरेक मानिसले उसको आफ्नै मेहनतअनुसार उसको आफ्नै इनाम पाउनेछ ।
- हाम्रो सहकार्य कुनै काम सम्पन्न गर्ने एउटा टोली जस्तै हुनुपर्छ जसले आ-आफ्नो भागको काम मिलेर गर्छ ।
- हाम्रो सहकार्य एकतामा हुनुपर्छ ।
- हाम्रो सहकार्य त्यस लक्ष्यलाई पाउन एउटै मनको हुनुपर्छ ।
३. हामी परमेश्वरका सहकर्मीहरू हौं !
१ कोरिन्थी ३:९ किनकि हामी परमेश्वरका सहकर्मीहरू हौं; तिमीहरू परमेश्वरको खेत हौ, तिमीहरू परमेश्वरको भवन हौ ।
- हाम्रो काम परमेश्वरसित साझेदारीको काम हो ।
- परमेश्वर यसको मालिक हुनुहुन्छ ।
- उहाँले यस कामलाई पुरा गर्न हामीलाई एक्लै छाड्नु भएको छैन, उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ ।
हिब्रू १३:५-६ - तिमीहरूको चालचलन पैसाको लोभरहित भएको होस्; अनि तिमीहरूसँग जे कुराहरू छन्, तिनैमा सन्तुष्ट होओ; किनकि उहाँ आफैले भन्नुभएको छ: ‘म तिमीलाई कुनै रीतिले छोड़्नेछैनँ, न ता तिमीलाई कुनै रीतिले त्याग्नेछु ।’ यसकारण हामी हिम्मतसँग भन्न सक्छौ: ‘परमप्रभु’ मेरो सहायक हुनुहुन्छ, अनि म डराउनेछैनँ; मानिसले मलाई के गर्न सक्छ र?’
निष्कर्ष:
- हामी सबै परमेश्वरको काममा व्यस्त हुनुपर्छ, जसरी येशू हाम्रो निम्ति उदाहरण हुनुहुन्छ ।
- हामीले यो काम परमेश्वर र मानिसहरू प्रतिको हाम्रो प्रेमको कारण गर्नुपर्छ।
- यसको निम्ति हामीले परमेश्वरबाट एकदिन इनाम पाउनेछौं । हिब्रू ६:१० - किनकि परमेश्वर तिमीहरूको काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न, जुनचाहिँ तिमीहरूले पवित्र जनहरूको सेवा गरेर र सेवा गरिरहेर उहाँको नामका निम्ति देखाएका छौ ।
प्रश्न: तपाईं के मा व्यस्त हुनुहुन्छ? यसको निम्ति तपाईंके कति समय दिनुभएको छ? के त्यो पर्याप्त छ? परमेश्वरको सेवाको निम्ति उहाँ तपाईंमा इच्छुक हुनुहुन्छ!
सत्य के हो?
लेखक: बिजय प्रधान । मे २६, २०१८
चाबी पदहरू:
येशूले तिनलाई भन्नुभयो: "बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन। यूहन्ना १४:६
तपाईंको सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्; तपाईंको वचन सत्य हो। यूहन्ना १७:१७
किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैं महिमा दिएनन्, न ता धन्यवादी नै भए; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए, र तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। बुद्धिमान् छौं भन्ने दाबी गर्दै तिनीहरू मूर्ख बने। रोमी १:२१-२२
परिचय:-
आज जो कसैलाई “सत्य के हो?” भनि सोध्नुहोस्; तपाईंको पक्कै चाख लाग्दो वार्तालाप शुरु हुनेछ। सत्यको अवधारणा आजको यस कठिन समयहरूमा झन् स्पष्ट गरि पतन भएर गइरहेको छ। यसलाई अस्वीकार गर्ने अवस्थाहरूले गर्दा मानव समाज तहसनहस हुँदै गइरहेको छ।
बाइबलमा सबैभन्दा गहिरो र अनन्तताको सवालमा गरिएको महत्वपूर्ण प्रश्न एकजना अविश्वासीले गरेको छ। त्यो व्यक्ति पिलातस हुन् जसले येशूलाई क्रूसमा टाँग्न दिएका थिए। येशूको अन्तिम घडीमा उहाँ तर्फ फर्किएर तिनले एउटा प्रश्न सोधे, “सत्य के हो?”। यो आलङ्कारिक प्रश्न (अर्थात् जबाफको अपेक्षा नगरेर खालि प्रभाव पार्नको लागिमात्र सोधिएको प्रश्न) थियो, जो येशूले भर्खर प्रकट गर्नुभएको: “सत्यका विषयमा गवाही दिउँ भनेर, ... यसैका निम्ति म संसारमा आएँ” (यूहन्ना १८:३७) भन्ने वचनको सन्की प्रतिक्रिया स्वरूप पिलातसले गरेका थिए।
दुई हजार वर्षहरू पछि पनि, सारा विश्व पिलातसको त्यही सनकलाई व्यक्त गरिरहेका छन्। कसैले भन्छन् सत्यता एउटा शक्तिको खेल हो; माथिल्लो वर्गहरूको एउटा वृहत् विचार जसले निर्दोष समूहलाई नियन्त्रणमा राख्ने उद्देश्य राख्छ। कसैको लागि सत्य आत्मगत हो; आफ्नै विचार र प्राथमिकताको संसार। अरूले विश्वास गर्छन् कि सत्य एउटा सामूहिक धारणा हो; जो सांस्कृतिक सहमतिमा बन्दछ। अरूहरूले चाहिँ सत्यताको विचारलाई समग्रमा सरासर इन्कार गर्छन्।
अब, सत्य के हो त?
१. “सत्य” को बाइबलीय परिभाषा:
कतिपय बाइबलका शिक्षकहरूले यसको सामान्य परिभाषा यस्तो दिएका छन्: सत्य त्यो हो जो मन, इच्छा, चरित्र, महिमा, र परमेश्वरको गुणसँग मिल्दो छ। यसलाई अझ बढि भन्नुपर्दा: सत्य परमेश्वरको स्व-अभिव्यक्ति हो अर्थात् उहाँको आफ्नै अभिव्यक्ति। सत्यको बाइबलीय परिभाषा पनि यही नै हो किनभने सत्यको परिभाषा परमेश्वरबाट नै बगेर आउँछ, सत्य ईश्वरीय हो।
सत्य वस्तुगत अथवा तत्त्वमूलक पनि हो; यी शब्दहरू चाहिँ वास्तविक कुराहरूलाई व्यक्त गर्नको निम्ति असाधारण (ठूला) शब्दहरू हुन्। वास्तविकता जे छ; त्यो परमेश्वरले त्यस्तै गरि घोषणा गर्नुभएको र बनाउनुभएको कारणले नै छ। यसैले, परमेश्वर सबै सत्यका रचयिता, स्रोत, निर्णायक, शासक, मध्यस्थ, अन्तिम अधिकार र अन्तिम न्यायकर्ता हुनुहुन्छ।
२. परमेश्वर “सत्य” हुनुहुन्छ:
पुरानो नियमले सर्वशक्तिमानलाई “सत्यका परमेश्वर” भनि जनाएको छ।
उहाँ चट्टान हुनुहुन्छ; उहाँको काम सिद्ध छ; उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्; उहाँ विश्वासयोग्य (सत्य अङ्ग्रेजीमा Truth) र अधर्मरहित परमेश्वर हुनुहुन्छ; उहाँ धर्मी र सीधा चालका हुनुहुन्छ। (व्यवस्था ३२:४)
म आफ्नो आत्मा तपाईंको हातमा सुम्पन्छु; हे परमप्रभु , सत्यका परमेश्वर, तपाईंले मलाई छुटकारा गर्नुभएको छ। (भजनसंग्रह ३१:५)
र जसले पृथ्वीमा आफूलाई धन्यको भन्छ, उसले सत्यताको परमेश्वरमा आफूलाई धन्यको भन्छ; अनि जसले पृथ्वीमा कसम खान्छ, उसले सत्यताको परमेश्वरको नाममा कसम खानेछ; किनभने पहिलेका कष्टहरू बिर्सिएका छन्, र ती कुराहरू मेरा आँखाबाट लुकेका छन्। (यशैया ६५:१६)
जब येशूले आफ्नो विषयमा, “सत्य ... म नै हुँ” (यूहन्ना १४:६ मा “नै” भनि जोड दिएर) भन्नुभयो; उहाँले त्यस सम्बन्धमा उहाँको आफ्नै परमेश्वरत्वको गहिरो दाबी गर्दै हुनुहुन्थ्यो। उहाँले यस कुरालाई पनि स्पष्ट पार्दै हुनुहुन्थ्यो कि सबै सत्यताहरूलाई अन्ततः परमेश्वरको स्तर र उहाँको अनन्तको महिमाको आधारमा व्याख्या गरिनुपर्छ। आखिरकार, येशू परमेश्वरको महिमाको चमक र उहाँको व्यक्तित्वको पक्का प्रतिरूप हुनुहुन्छ (हिब्रू १:३)। उहाँ देह-धारण हुनुभएको सत्यता हुनुहुन्छ; परमेश्वरको एक सिद्ध अभिव्यक्ति (प्रकटीकरण)। त्यसैले सबै सत्यता जो छन् त्यसको सम्पूर्ण प्रतिरूप येशू नै हुनुहुन्छ।
येशूले परमेश्वरको लिखित वचन सत्य हुन् पनि भन्नुभयो। त्यसमा केवल सत्यताको मूल्यवान् थुप्रो मात्र छैनन्; तर त्यो शुद्ध छ, अपरिवर्तनीय छ, उल्लङ्घन गर्न नसकिने सत्य समेत जो येशूले आफैले भन्नु भए अनुसार “भङ्ग हुन सक्दैन” (यूहन्ना १०:३५)। आफ्ना चेलाहरूको निम्ति उहाँको स्वर्गीय पितासँग प्रार्थना गर्नुहुँदा, उहाँले भन्नुभयो: “तपाईंको सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्; तपाईंको वचन सत्य हो” (यूहन्ना १७:१७)। अझै बढि भन्नु पर्दा, परमेश्वरको वचन त अनन्तको सत्य हो जो “जिउँदो र सधैंभरि रहने” (१ पत्रुस १:२३) छ।
निश्चय नै, त्यहाँ परमेश्वरको लिखित वचन (पवित्र शास्त्र) र परमेश्वरको देहधारी वचन (येशू ख्रीष्ट) को बीचमा कुनै पनि बेमेल वा फरक विचार हुन सक्दैन। पहिलो कुरा त, सत्य आफैमा यसको परिभाषा अनुसार प्रतिकूल (आफैमा विमति) हुन सक्दैन। दोस्रो कुरा, पवित्र शास्त्रलाई “ख्रीष्टको वचन” (कलस्सी ३:१६) भनिएको छ। यो उहाँको सन्देश हो, उहाँकै स्व-अभिव्यक्ति। अर्को शब्दहरूमा भन्नुपर्दा, ख्रीष्टको सत्यता र बाइबलको सत्यता एकदम समान चरित्रका छन्। उहाँहरू (ख्रीष्ट र पवित्र शास्त्र) हरेक सन्दर्भमा सिद्ध रूपले सहमत हुनुहुन्छ। दुबै समान सत्य हुन्। परमेश्वरले मानव-जाति माझ आफैलाई पवित्र शास्त्र र आफ्नो पुत्रद्वारा प्रकट गर्नुभएको छ। दुबैले सत्यताको अस्तित्वलाई सिद्ध रूपमा मूर्तरूप दिनुभएको छ।
३. परमेश्वरको स्वभाव “सत्य” छ:
याद राख्नुहोस्, पवित्र शास्त्रले पनि प्रकृतिमा परमेश्वरले आफ्नो आधारभूत सत्यताहरू प्रकट गर्नुभएको छ भनि बताउँछ। आकाशले उहाँको महिमाको वर्णन गर्दछ (भजनसंग्रह १९:१)। उहाँको अरू अदृश्य गुणहरू ( जस्तै: उहाँको बुद्धि, शक्ति, र सुन्दरता) उहाँका सृष्टिमा निरन्तर प्रदर्शित छन् (रोमी १:२०)। उहाँको ज्ञान मानिसको हृदयमा जन्मजात देखि नै छ (रोमी १:१९), र नैतिक चरित्रको बोध तथा उहाँको व्यवस्थाको श्रेष्ठता हरेक मानिसको विवेकमा अन्तर्निहित छ (रोमी २:१५)।
यी तथ्यहरू समस्त विश्व-ब्रह्माण्डमा स्व-प्रमाण सत्यहरू हुन्। रोमी १:२० अनुसार, हामीलाई स्वभावतः थाहा भएका आत्मिक सत्यताहरूको अस्वीकारले गर्दा हामीलाई सधैँ जानाजान अविश्वास र दण्डनीय अविश्वासमा लिएर जान्छ। के परमेश्वरको सम्बन्धमा आधारभूत सत्यताहरू र उहाँका नैतिक स्तरहरू साँच्चै नै मानिसको हृदयमा छापिएको छ त?, भनि अचम्म मान्नेहरूका निम्ति मानवीय कानुन र धर्मको लामो इतिहासमा प्रशस्त गरि प्रमाण भेट्टाउन सकिन्छ। अर्थात् मानिसको हृदयमा सत्यताको छनक भएकै कारण मानिसले ठीक र बेठीकको फैसला गर्नको लागि कानुन र धर्म बनाए। मानिसमा रहेको परमेश्वरको यस सत्यतालाई दबाउनु भनेको उहाँलाई अनादर गर्नु, उहाँको महिमालाई विस्थापित गर्नु, र उहाँको क्रोधको सामना गर्नु हो (रोमी १:१९-२०)।
रपनि, हामीले प्रकृतिमा देखेको वा हाम्रो आफ्नै विवेकमा स्वभावतः जानेको कुराको एउटै मात्र अचुक बयान पवित्र शास्त्रको प्रकाशमा सफासँग उल्लेख गरिएको छ। जबकी पवित्र शास्त्रलाई एकतर्फ हाम्रो मुक्तिको मार्ग, परमेश्वरको राज्यभित्रको प्रवेश, र ख्रीष्टको बारेमा अचुक प्रमाणहरूको रूपमा दिइएको छ भने; अर्कोतर्फ एउटा अख्तियारको रूपामा दिइएको छ जसले सबै दाबी गरिएका सत्यतालाई न्यायमा ल्याउनेछ र यसैद्वारा बाँकी सबै सत्यताको पनि अन्ततोगत्वा नापिनेछ।
४. “सत्य” परमेश्वरबाट अलग छैन:
सत्यता भनेको परमेश्वरबाट कुनै पनि कुरा अलग छैन भन्ने हो। किनकि स्रोतको रूपमा परमेश्वर बिना सत्यताको यथेष्ट व्याख्या, पहिचान, बुझाई, वा अर्थ लगाउन सकिन्न। किनकि उहाँ मात्र अनन्त र स्व-अस्तित्वमा हुनुहुन्छ तथा उहाँ आफै मात्र सबै कुराहरूका सृष्टिकर्ता हुनुहुन्छ, उहाँ नै सबै सत्यताको उद्गम-स्थल र झरना हुनुहुन्छ।
यदि तपाईंले यस कुरालाई विश्वास गर्नु भएको छैन भने; परमेश्वरको सम्बन्ध बिना सत्यताको व्याख्या गर्न कोसिस गर्नुहोस्, अनि हेर्नुहोस्, कति छिटो ती सबै व्याख्याहरू असफल भएर जानेछन्। सत्यताको सारलाई जब तपाईंले विचार गर्न थाल्नुहुन्छ; तपाईंले विश्वव्यापी यथार्थता अर्थात् परमेश्वरको अनन्त यथार्थताको खाँचोको सामना गर्नुपर्ने हुन्छ। उस्तैगरी, जब मानिसले आफ्नो मनहरूबाट परमेश्वरलाई निकाल्ने प्रयास गर्छ तब सत्यताको सम्पूर्ण सोच तुरुन्तै बेकम्मा बन्न जान्छ अनि मानिसका हृदयका हरेक विचारहरू अति मूर्खतामा बदल्न जान्छ।
मानिसको विचारको यस कठोर अधोगतिलाई सफासँग पावलले रोमी १:२१-२२ मा उल्लेख गरेको छ: “किनभने परमेश्वरलाई जानेर पनि तिनीहरूले उहाँलाई परमेश्वरलाई झैँ महिमा दिएनन्, न ता धन्यवादी नै भए; तर तिनीहरू आफ्ना विचारहरूमा बेकम्मा भए, र तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। बुद्धिमान् छौं भन्ने दाबी गर्दै तिनीहरू मूर्ख बने।”
त्यहाँ गम्भीर खालका नैतिक आशयहरू पनि छन्; जब कुनै मानिसले सत्यतालाई परमेश्वरको ज्ञानबाट अलग गर्न कोसिस गर्छ। यसलाई पावलले यसरी लेखे, “अनि जसरी तिनीहरूले आफ्नो ज्ञानमा परमेश्वरलाई राख्न चाहेनन्, यसरी नै नसुहाउँदा कामहरू गरून् भनेर परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको वशमा सुम्पिदिनुभयो” (रोमी १:२८)। सत्यताको बाइबलीय परिभाषाबाट अलग हुनुभयो भने, अधर्मको परिणामबाट उम्कन सम्भव छैन। हामीले यसलाई हाम्रै आँखाहरूको सामु हाम्रो समकालीन समाजको हरेक कुनाकाप्चामा घटिरहेको देखिरहेका छौं। वास्तवमा, समलैंगिकताको वृहत् स्वीकार्यता, विद्रोह, र सबै प्रकारका अधर्महरू जो आज हामी हाम्रो समाजमा देख्छौं त्यो रोमी १ ले भने झैँ हुबहु पुरा भइरहेको छ। जब हाम्रो समाजले परमेश्वर र सत्यताको अत्यावश्यक सम्बन्धलाई इन्कार गर्ने र दबाउने गर्छ तब यस्तो भयावह परिणामहरू आउँछ।
यदि तपाईंले यस विषयमा गम्भीरताको तहबाट चिन्तन गर्नुभयो भने, तपाईंले चाँडै के देख्नुहुन्छ भने: परमेश्वर बिना अति आधारभूत नैतिक भिन्नताहरू जस्तै: असल र खराब, ठीक र बेठीक, सुन्दरता र कुरूपता, वा आदर र अनादरले पनि कुनै सत्य वा स्थिर माने राख्न सम्भव छैन। त्यो किन हो भने सत्य र ज्ञान आफैमा एउटा निश्चित स्रोत अर्थात् परमेश्वर बिना सँगै अर्थपूर्ण हुन सक्दैनन्। कसरी हुन सक्छन्? किनभने परमेश्वरले मात्र सत्यताको सटीक व्याख्याको प्रतिनिधित्व गर्नुहुन्छ। उहाँ सत्यताका श्रृजनाकार र व्याख्याकारा हुनुहुन्छ। उहाँ बिना दाबी गर्ने हरेक सत्यता अप्राकृतिक हुन्छन्।
परमेश्वरलाई अलग राख्दै भौतिक ज्ञानले सत्यताको प्रस्ताव ल्यायो तर ती सबै क्रमिक रूपले एक पछि अर्को गरि झूटो साबित हुँदै गए। एउटा यस्तो लामो जन्जिर जस्तै जसमा हरेक अगाडीको जोडाई टुक्रिएको हुन्छ। हजारौं वर्षहरू पछि, अति उत्तम दर्शनशास्त्रीहरू सोक्रेटस, प्लाटो, एरिस्टोटल, मार्क्स् ती सबै अन्ततः सत्यताको संरक्षण गर्न र परमेश्वर बिना मानिसको ज्ञानको प्रादुर्भाव गर्न असफल भए।
वास्तवमा, दार्शनिक ज्ञानबाट मानव जातिले सिक्नु पर्ने एउटा बहुमूल्य पाठ भनेको यस्तो छ: कुनै पनि विषयको निम्ति सुरुवातको अत्यावश्यक बिन्दुको रूपमा परमेश्वरलाई नजाने सम्म सत्यताको माने बुझ्न सम्भव छैन।
निष्कर्ष:
सत्यता आत्मगत होइन, यो सहमतिको संस्कृति निर्माण होइन, र यो अवैध, मिति नाघेको, अप्रासङ्गिक विचार पनि होइन। सत्य परमेश्वरको स्व-अभिव्यक्ति हो। यसैले सत्यता ईश्वरीय हो; यो परमेश्वरले सृजना गर्नुभएको र व्याख्या गर्नुभएको वास्तविकता हो, जसमाथि उहाँले अधिकार गर्नुहुन्छ। त्यसैले सत्यता हरेक मानिसको निम्ति नैतिक विषय हो।
हरेक व्यक्तिले परमेश्वरले प्रकट गर्नुभएको सत्यतामा कसरी प्रतिक्रिया जनाउँछ भन्ने कुराले उसको अनन्ततामा अर्थ राख्दछ। परमेश्वरको सत्यतालाई इन्कार गर्नु र त्यस विरुद्ध विद्रोह गर्नुको परिणाम अन्धकार, मूर्खता, पाप, न्याय, र परमेश्वरको कहिल्यै अन्त नहुने क्रोधको सामना गर्नु हो। परमेश्वरको सत्यतालाई स्विकार गर्ने र त्यसमा आफैलाई सुम्पने व्यक्तिले सफासँग देख्छ, स्पष्टसँग जान्छ, र अनन्तको जीवन भेट्टाउँछ।