हामी को हौं?
Who we are?
परमेश्वरको इच्छा र अगुवाइलाई पक्का गर्दै (मत्ती १६:१८) २०११ जनवरी १ मा कलभरी बाइबल ब्याप्टिष्ट चर्चको स्थापना भएको थियो । स्थापनादेखि नै यस चर्चको पाष्टरको रूपमा पाष्टर बिजय प्रधान हुनुहुन्छ । यो एउटा स्थानीय, स्वतन्त्र, र आधारभूत ब्याप्टिष्ट चर्च हो । यस चर्चको मुख्य पद (कलस्सी १:२८) रहेको छ ।
यस चर्चको बडापत्र
हामी येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रुपमा र उहाँको आज्ञामा आज्ञाकारी भई पानीमा पुरै चोपलिएर बप्तिस्मा लिएकाहरुको चर्च (सभा, ग्रीकमा एकलेशिया) हौं। नयाँ करारको ढाँचा अनुरुप स्वतन्त्र र आधारभूत ब्याप्टिष्ट चर्चको रुपमा हामीले आफैहरुलाई करारबद्ध पारेका छौं। यस अतिरिक्त, यस चर्चलाई येशू ख्रीष्टले प्रदान गर्नुभएको अधिकारमा विश्वासीहरुको पानीमा पुरै चोपलेर बप्तिस्मा र प्रभु भोजका विधिहरुको व्यवस्थापन तथा सुसमाचारको घोषणाद्वारा मुक्तिको लागि हराएकाहरुको खोजी गर्दै ख्रीष्टिय प्रेममा एक अर्कालाई उत्साह दिने कार्य गर्दछौं। साथै, यो चर्च पवित्र शास्त्रमा प्रकट गरिएको परमेश्वरको इच्छाद्वारा तथा चर्च प्रतिज्ञा, विधान र विश्वासको वक्तव्य अनुरुप चल्दछ।
हामी के विश्वास गर्छौं ?
What do we believe?
"परमेश्वरको वचन 'बाइबल' हाम्रो विश्वास र अभ्यासको निम्ति एक मात्र अन्तिम अख्तियार हो।" - CBBC
हाम्रो विश्वासको वक्तव्य
हामी विश्वास गर्दछौं, पुरानो र नयाँ नियमका पवित्र शास्त्रहरू पूर्ण र शाब्दिक रूपमा परमेश्वरका वचन हुन्
(२ तिमोथी ३:१६-१७; २ पत्रुस १:२०-२१; मत्ती ५:१८), परमेश्वरबाट निश्वासित हुन् (२ तिमोथी ३:१६), विश्वास र जीवन सम्बन्धी अन्तिम अख्तियार हुन् (यूहन्ना १६:१२-१३; २ तिमोथी ३:१७), मूल लेखोटहरूमा त्रुटिरहित छन् (मत्ती ५:१८), अचूक छन् (मत्ती ५:१८)।
हामी विश्वास गर्दछौं, एउटै त्रिएक परमेश्वरमा
(व्यवस्था ६:४; मत्ती २८:१९) जसको अस्तित्व अनादिदेखि तीन व्यक्तिहरूमा रहँदै आएको छ, जोहरू पिता र पुत्र र पवित्र आत्मा हुनुहुन्छ (२ कोरिन्थी १३:१४; मत्ती २८:१९), जोहरू, अस्तित्वमा सह-अनन्त हुनुहुन्छ, स्वभावमा अभिन्न हुनुहुन्छ, शक्ति र महिमामा बराबर हुनुहुन्छ, गुणहरू र सिद्धताहरूमा समान हुनुहुन्छ।
हामी विश्वास गर्दछौं, प्रभु येशू ख्रीष्ट परमेश्वरका अनन्त पुत्र हुनुहुन्छ
(यूहन्ना १:१,२,१४), जो पवित्र आत्माबाटको गर्भधारणद्वारा कन्या मरियमबाट जन्मनुभई मानिस बन्नुभयो तापनि आफ्नो ईश्वरत्व कायमै राख्नुभयो (लूका १:३५, यूहन्ना १:१४)। उहाँ मानिस बन्नुको उद्देश्य थियो – परमेश्वरलाई प्रकट गर्नु (यूहन्ना १:१८) र पापी मानिसको उद्धार गर्नु (१ तिमोथी १:१५)। उहाँ मानिसको प्रतिनिधि हुनुभई – क्रूसमा हाम्रो सट्टामा बलिको रूपमा मर्नुभई हाम्रो उद्धार पूरा गर्नुभयो (रोमी ३:२४; एफेसी १:७; १ पत्रुस २:२४), र मरेकाहरूबाटको उहाँको वास्तविक, शारीरिक बौरिउठाइले हाम्रो धर्मीकरण पक्का भयो (रोमी ३:२५; १ पत्रुस १:३-५), र उहाँ स-शरीर स्वर्गारोहण हुनुभएर परमेश्वरको दाहिने बाहुलीमा उच्च पारिनुभयो जहाँ अहिले महापूजाहारी भएर हाम्रो प्रतिनिधि, मध्यस्त र वकिलको काम गर्दैहुनुहुन्छ (प्रेरित १:९,१०; हिब्रू ९:२४; ७:२५; रोमी ८:३४; १ यूहन्ना २:१-२)।
हामी विश्वास गर्दछौं, पवित्र आत्मा एक ईश्वरीय व्यक्ति हुनुहुन्छ जसले संसारलाई पापको, धार्मिकताको र न्यायको विषयमा कायल पार्नुहुन्छ
(यूहन्ना १६:८-११) , सबै विश्वासीहरूलाई नयाँ गरी जन्माउने, ख्रीष्टको शरीरभित्र बप्तिस्मा गराउने, उनीहरूभित्र बास गर्ने र छुटकाराको दिनसम्म उनीहरूलाई छाप मार्ने अलौकिक काम गर्नुहुन्छ (२ कोरिन्थी ३:६; १ कोरिन्थी १२:१२-१४; रोमी ८:९; एफेसी १:१३-१४) , विश्वासीहरूलाई सबै सत्यताहरूभित्र डोर्याउनुहुन्छ (यूहन्ना १६:१३; १ यूहन्ना २:२०,२७); अनि पवित्र आत्माले भरपूर हुनु प्रत्येक विश्वासीको विशेषाधिकार तथा कर्तव्य हो (एफेसी ५:१८) ।
हामी विश्वास गर्दछौं, मानिस परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि गरिएको थियो
(उत्पत्ति १:२६-२७) , र आदमले पाप गर्दा मानव जातिकै पतन हुन गयो, मानिस पाप स्वभावको भागीदार बन्न पुग्यो र परमेश्वरबाट अलग हुन पुग्यो (रोमी ३:२२-२३; ५:१२) ; मानिस पूरै भ्रष्ट छ र आफ्नो पतित अवस्थाबाट मुक्त हुन ऊ, आफैमा, पूर्ण रूपमा असमर्थ छ (एफेसी २:१-३,१२) ।
हामी विश्वास गर्दछौं, मुक्ति मानिसलाई अनुग्रहमा प्रदान गरिएको परमेश्वरको दान हो
(एफेसी २:८-९) ; जसलाई प्राप्त गर्न एक व्यक्तिले प्रभु येशू ख्रीष्टमा व्यक्तिगतरूपमा विश्वास गर्नुपर्छ (एफेसी २:८; यूहन्ना १:१२) ; जुन मुक्ति हामीलाई दिलाउन प्रभु येशू ख्रीष्टले आफ्नो बहुमूल्य रगत हाम्रा पापहरूको क्षमाका लागि कलवरीमा बहाउनुभयो (एफेसी १:७; १ पत्रुस १:१८-१९) ।
हामी विश्वास गर्दछौं, सबै उद्धार पाएकाहरू एक पटक बचाइएपछि परमेश्वरको शक्तिले सुरक्षित राखिन्छन् र यसरी ख्रीष्टमा अनन्तसम्मै सुरक्षित रहन्छन्
(यूहन्ना ६:३७-४०; १०:२७-३०; रोमी ८:१,३८,३९; १ कोरिन्थी १:४-८; १ पत्रुस १:५) ; उनीहरू परमेश्वरको वचनले दिएको गवाहीको आधारमा आफ्नो मुक्तिको निश्चयतामा रमाहट गर्न सक्छन्, तरैपनि, त्यही वचनद्वारा आफ्नो स्वतन्त्रतालाई शरीरको अभिलाषा पूरा गर्नदेखि प्रतिबन्धित हुन्छन् (रोमी १३:१३-१४; गलाती ५:१३; तीतस २:११-१५) ।
हामी विश्वास गर्दछौं, मुक्ति पाएको प्रत्येक व्यक्तिसँग दुइटा स्वभावहरू हुन्छन्
(रोमी ६:१३; ८:१२-१३) , जसमा उसको नयाँ स्वभाव पुरानो स्वभावमाथि उसभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा विजयी बन्न सक्ने व्यवस्था गरिएको छ (गलाती ५:१६-२५; एफेसी ४:२२-२४; कलस्सी ३:१०; १ पत्रुस १:१४-१६; १ यूहन्ना ३:५-९) ; तर वर्तमान जीवनमै पुरानो स्वभाव निर्मूल हुन सक्छ भन्ने दाबी अ-बाइबलीय हो (१ यूहन्ना १:८-१०) ।
हामी विश्वास गर्दछौं, मुक्ति पाएका सबै आफ्ना मुक्तिदाता र प्रभुको निन्दा नहुने तरिकामा जीवन बिताउन जिम्मेवार छन्
(२ तिमोथी ३:१-५; रोमी १२:१-२; १४:१३) र उनीहरूलाई सबै झूटा शिक्षा र अभ्यासदेखि साथै सबै पापका सांसारिक मोजमज्जा, क्रियाकलाप र सङ्गतदेखि अलग रहन परमेश्वरको आज्ञा छ (१ यूहन्ना २:१५-१७; २ यूहन्ना ९-११; २ कोरिन्थी ६:१४-७:१) ।
हामी विश्वास गर्दछौं, मुक्ति पाएकाहरू आफ्नो जीवनको र मुखको गवाहीद्वारा पवित्र शास्त्रका सत्यताहरूको साक्षी हुन जिम्मेवार छन्
(प्रेरित १:८), र सबै मानिसहरूलाई सुसमाचार प्रचार गर्ने प्रयास गर्न जिम्मेवार छन् (मर्कूस १६:१५; २ कोरिन्थी ५:१९-२०)।
हामी विश्वास गर्दछौं, आत्मिक वरदानहरू परमेश्वरले आफ्नो सार्वभौम इच्छाबमोजिम प्रदान गर्नुहुन्छ
(१ कोरिन्थी १२:४-११) र आज पवित्र जनहरूलाई सिद्ध बनाउन प्रचारक, पास्टर, र शिक्षकका दानहरू यथेष्ट छन् (एफेसी ४:७-१२) , र नयाँ नियम पवित्र शास्त्र लेखिने र तिनको आधिकारिक मान्यता स्थापित हुने क्रममा अन्यभाषा बोल्ने र चिन्हरूपी आश्चर्यकर्म गर्ने कामहरू बिस्तारै बन्द भए (२ कोरिन्थी १२:१२) । साथै, परमेश्वरले आफ्नो इच्छाबमोजिम रोगी-बिरामी र कष्टित व्यक्तिका लागि गरिएको विश्वासको प्रार्थना सुन्नुहुन्छ र त्यसको उत्तर दिनुहुन्छ (यूहन्ना १५:७; १ यूहन्ना ५:१४-१५; याकूब ५:१४-१५) ।
हामी विश्वास गर्दछौं, मण्डली ख्रीष्टको शरीर र मगनी गरिएको दुलही हो
(एफेसी १:२२-२३; ५:२५,२७; २ कोरिन्थी ११:२) , र वर्तमान युगमा नयाँ जन्म पाएका सबै व्यक्तिहरू मिलेर बनेको एउटा आत्मिक संरचना हो (१ कोरिन्थी १२:१२-१४) । स्थानीय मण्डलीहरूको स्थापना र निरन्तरता नयाँ नियम पवित्र शास्त्रहरूमा प्रस्ट सिकाइएको र परिभाषित गरिएको विषय हो (प्रेरित १४:२७; २०:१७,२८-३२; १ तिमोथी ३:१-१३; तीतस १:५-११) ।
हामी विश्वास गर्दछौं, ख्रीष्टियनहरूलाई दुइटा विधिहरू पालन गरिनका लागि आज्ञा गरिएका छन् । ती हुन्, (१) पानीको बप्तिस्मा
(मत्ती २८:१९) र (२) प्रभु-भोज (१ कोरिन्थी ११:२३-३३) । पानीको बप्तिस्माले मुक्ति पाइँदैन तर मुक्ति पाएपछि एउटा व्यक्तिले लिनुपर्ने कदम बप्तिस्माको हो जसद्वारा उसले संसारलाई आफू ख्रीष्टको मृत्युमा, दफनमा र बौरिउठाइमा जोडिएको तथ्य (सम्मिलिकरण) को चित्रणरूपी गवाही दिने काम गर्दछ (रोमी ६:४; कलस्सी २:९-१३) । पानीको बप्तिस्माको बाइबलीय तरिका चोपल्नु हो (प्रेरित ८:३८-३९) । प्रभु-भोजको शुरूआत येशू ख्रीष्टले गर्नुभएको हो र यो उहाँ नआउञ्जेलसम्म उहाँको मृत्युको सम्झनामा लिने गरिन्छ (१ कोरिन्थी ११:२६) । पानीको बप्तिस्मा केवल एक पटक लिइन्छ जो सम्मिलिकरणको चित्रण हो र जीवनको नयाँपनाको गवाही हो (रोमी ६:४) , तर प्रभु-भोज सम्झनाका लागि हो र यो हाम्रा प्रभु येशू ख्रीष्टको शरीर र बहाइएको रगतको सम्झनामा अक्सर लिइनुपर्छ (१ कोरिन्थी ११:२५) । प्रभु-भोजमा नयाँ जन्म पाएका सबै विश्वासीहरू सहभागी हुन सक्छन्।
हामी विश्वास गर्दछौं, शैतान एक व्यक्ति हो, पापको कर्ता र मानिसको पतनको कारक हो
(यशैया १४:१२-१७; उत्पत्ति ३:१-६) ,परमेश्वर र मानिसको अजात शत्रु हो (अय्युब १:६-७; २ कोरिन्थी ४:३-४; १ पत्रुस ५:८; मत्ती ४:२-११) र ऊ आगोको झीलमा अनन्तसम्म दण्डित हुनेछ (मत्ती २५:४१; प्रकाश २०:१०) ।
हामी विश्वास गर्दछौं, बाइबलको व्याख्या शब्दहरूको अक्षरशः, सामान्य, स्वाभाविक र मौलिक अर्थमा आधारित हुनुपर्छ र अक्षरशः अर्थ अनर्थ हुने खण्डमा मात्र अर्को (लाक्षणिक) अर्थ खोज्नुपर्छ। बाइबलको सही व्याख्या प्रबन्धवादी (dispensational) व्याख्या हो भन्ने हाम्रो मान्यता छ, तर प्रभु-भोज र पानीको बप्तिस्मा वर्तमान मण्डली युगका लागि होइनन् भन्ने जस्ता शिक्षा अपनाउने “उग्र-प्रबन्धवादी”(ultra-dispensational) शिक्षालाई हामी अस्वीकार गर्दछौं
(मत्ती २८:१९-२०; प्रेरित २:४१-४२; १८:८; १ कोरिन्थी ११:२३-२६) ।
हामी विश्वास गर्दछौं, ख्रीष्टको दोश्रो आगमन — त्यो “धन्यको आशा” हो
(तीतस २:१३) , जुन आशा त्यो दिन पूरा हुनेछ जब प्रभु येशू ख्रीष्ट स्वयं उद्धार पाएकाहरूलाई लिनलाई आकाशमा आउनुहुनेछ (यूहन्ना १४:१-३; १ थेस्सलोनिकी ४:१३-१८) , जुन आगमन कुनै पनि घडी हुन सक्नेछ (१ कोरिन्थी १५:५१-५२; १ थेस्सलोनिकी १:९) ; तरैपनि उक्त आगमन हजार वर्षको राज्यभन्दा अगाडि हुने सङ्कष्टकालभन्दा पनि अगाडि हुनेछ (१ थेस्सलोनिकी १:९-१०, ५:९; प्रकाश ३:१०) , जुन सङ्कष्टकालपछि प्रभु येशू ख्रीष्ट आफ्ना पवित्र जनहरूलाई साथमा लिएर पृथ्वीमा आफ्नो हजार वर्षको राज्यलाई स्थापना गर्न स्वर्गबाट ओर्लनुहुनेछ (प्रकाश १९:११-१६; २०:१-६) ।
हामी विश्वास गर्दछौं, मानिसको अनन्त अवस्थितिमा जसका लागि सबै मानिसहरू स-शरीर बौराइनेछन्
(यूहन्ना ५:२८) - मुक्ति पाएकाहरू अनन्त जीवनका लागि (यूहन्ना ५:२९; मत्ती २५:४६) र मुक्ति नपाएकाहरू न्याय र अनन्त दण्डका लागि (यूहन्ना ५:२९; मत्ती २५:४६; प्रकाश २०:५,६,१२,१३) । मरणपछि उद्धार पाएकाहरूका प्राणहरू शरीरबाट अलग भएर प्रभुसित रहन जान्छन् (लूका २३:४३; २ कोरिन्थी ५:८; फिलिप्पी १:२३) , र पहिलो बौरिउठाइको घडीसम्म आनन्दपूर्ण चेतनामै रहिरहन्छन् (प्रकाश २०:४-६; १ थेस्सलोनिकी ४:१६-१७) , जुन घडी आत्मा, प्राण र शरीर एकसाथ महिमित रूपमा जोडिनेछन् अनि यसरी उनीहरू सदा सर्वदा प्रभुसित रहनेछन् (फिलिप्पी ३:२१) । मरणपछि उद्धार नपाएकाहरूका प्राणहरू दोश्रो बौरिउठाइसम्म कष्टपूर्ण चेतनामै रहिरहन्छन् (लूका १६:१९-२६) , जब प्राण र शरीर जोडिएर उनीहरू ठूलो सेतो सिंहासनका सामु देखा पर्नेछन् र आगोको झीलभित्र फ्याँकिनेछन् जहाँ उनीहरू अस्तित्वहीन भएर जानेछैनन् बरू कष्टपूर्ण अनन्त दण्ड भोग्नेछन् (मत्ती २५:४१-४६; २ थेस्सलोनिकी १:७-९; यहूदा ६-७; मर्कूस ९:४३-४८; प्रकाश २०:११-१५) ।
विश्वासका उपर्युक्त दफाहरूको समर्थन जनाउँदा हामीले
पुरानो र नयाँ नियम पवित्र शास्त्रहरूको कुनै पनि खण्डलाई न ता पन्छाउँदछौं न ता कम महत्त्वको ठान्दछौं, तरैपनि हाम्रो विश्वासको यस वक्तव्यमा प्रकाशित सत्यताको ज्ञान, विश्वास र स्वीकार खाँटी विश्वास र विश्वासयोग्य अभ्यासका लागि अनिवार्य ठान्दछौं।